कोरोना सङ्क्रमण रोक्न प्रदेश दुईमा स्वास्थ्य पूर्वाधारको अभाव

कोरोना सङ्क्रमण रोक्न प्रदेश दुईमा स्वास्थ्य पूर्वाधारको अभाव

प्रदेश नम्बर २ मा मात्रै कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ हजार ४५ पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । पर्सा, सप्तरी, रौतहट लगायत केही जिल्लामा कोरोना समुदाय स्तरमा नै फैलियो कि भन्ने चिन्ता छ । तर कोरोना रोकथामका लागि प्रदेश २ मा स्वास्थ्य सम्बन्धी पूर्वाधारको व्यवस्था भने पर्याप्त हुन सकेको छैन । प्रदेश २ को गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा हाल १ सय ३२ जना कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् । जसमा अहिलेसम्म भेन्टिलेटरमा राखेर कसैको पनि उपचार गर्नुपरेको छैन । तर, जुनसुकै बेला आईसीयूमा बिरामीलाई भर्ना गर्नुपर्ने हुन सक्छ । अस्पतालमा हालसम्म ४ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिइसकेको छ । अस्पतालमा एउटा पनि भेन्टिलेटर नहुँदा र जनशक्ति पनि सङ्क्रमित हुँदा कसरी काम गर्ने ? भन्ने चिन्ता सुरु भएको अस्पतालका प्रमुख डा. रञ्जीत झा बताउनुहुन्छ ।

प्रादेशिक अस्पताल जनकपुरमा ५ जना कोरोना सङ्क्रमित आईसीयूमा छन् । उनीहरुलाई कुनैपनि बेला भेन्टिलेटरको आवश्यक्ता पर्न सक्छ । तर, अस्पतालको कोभिड–१९ वार्डमा एउटा पनि भेन्टिलेटर छैन । आईसीयूमा खटिने स्वास्थ्यकर्मीमा नै कोरोना सङ्क्रमण पुष्टि भएपछि जनशक्ति पनि अभाव हुन थालेको छ । स्वास्थ्यकर्मी र आवश्यक उपकरण उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारले चासो नदिएको कोभिड–१९ का क्लिनिकल संयोजक डा जामुनप्रसाद सिंहको गुनासो छ । प्रदेश २ मा हालसम्म ४५ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न तहका गरी नेपालमा हाल १२ सय ६६ जना चिकित्सकहरु छन् । ३० हजारभन्दा बढी नर्सहरु छन् ।

प्रदेश २ मा हाल कति चिकित्सक र नर्सले काम गरिरहेका छन्, सरकारसँग यकिन तथ्याङ्क छैन । समुदाय स्तरमा नै कोरोना फैलियो कि भन्ने त्रास सुरु हुँदा स्वास्थ्यकर्मी र अस्पताल तथा औषधि उपकरण अभाब सम्बन्धि चिन्ता पनि सुरु भएको छ । संघ सरकारले प्रदेश २ मा विज्ञ चिकित्सक सहितको उच्चस्तरीय टोली खटाएको छ । टोलीको अध्ययनको निष्कर्षका आधारमा सरकारले थप रणनिति बनाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्की बताउनुहुन्छ । प्रदेश २ का तीन वटा प्रयोगशालामा पिसिआर जाँच भइरहेको छ भने १० भन्दा बढी अस्पतालमा कोरोना सम्बन्धी उपचार भैरहेको छ । हाल जुन दरमा सङ्क्रमण बढिरहेको छ त्यो दरमा कमी नआए प्रदेशमा केहि दिन भित्रै अस्पताल, स्वास्थ्यकर्मी र औषधि उपकरणको अभाव हुने भने विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार