नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५ ÷ १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालमा सङ्क्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार