कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, पर्सामा निषेधाज्ञा

कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, पर्सामा निषेधाज्ञा

नेपालमा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो । वीरगञ्ज ११ का ८५ वर्षका महिलाको नारायणी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

कोरोना विशेष अस्पतालमा अर्का एक युवतीको पनि हिजो नै मृत्यु भएको छ । मृतक युवती बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया रहेको प्रहरीले जनाएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले  जानकारी दिनुभयो । प्रदेश २ को पर्सामा समुदायस्तरमा नै कोरोना फैलिएको शङ्का गर्दै आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले आजबाट अर्को सूचना नभएसम्मका लागि जिल्लाभरिमा निषेधाज्ञा जारी गरिएको बताउनुभयो । पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापाका २५, काठमाडौँका १०, दैलेख र कैलालीका ८÷ ८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५÷५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४÷४ जनामा सङ्क्रमण पुष्टि भएको छ । लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २÷२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार