३८ वर्ष पसिना बगाएँ, राज्यले केही दिएन— भावुक बने काँइला बा

३८ वर्ष पसिना बगाएँ, राज्यले केही दिएन— भावुक बने काँइला बा

रामेछापको रामेछाप नगरपालिका–८ स्थित श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा झण्डै चार दशकसम्म समर्पित भएर सेवा गर्नुभएका कार्यालय सहयोगी रामबहादुर कार्की (काँइला बा ) ससम्मान बिदाइ हुनुभएको छ।

वि.सं. २०४५ साल वैशाख ७ गते विद्यालयमा कार्यालय सहयोगीका रूपमा सेवा प्रारम्भ गर्नुभएका ७१ वर्षीय कार्कीले करिब ३८ वर्ष विद्यालयको सरसफाइ, व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्यमा निरन्तर योगदान पुर्‍याउनुभएको थियो।

बिदाइ समारोहमा भावुक हुँदै कार्कीले आफ्नो जीवनको अधिकांश समय विद्यालयमै बिताएको स्मरण गर्नुभयो। उहाँले विद्यालयप्रतिको आत्मीयता व्यक्त गर्दै लामो समय राज्यको तल्लो तहमा रहेर सेवा गर्दाको पीडा पनि सुनाउनुभयो।

“सरकारले विद्यालय कर्मचारीका लागि कुनै दिन उचित व्यवस्था गर्ला भन्ने आशामा ३८ वर्ष पसिना बगाएँ। तर जीवनभर न्यूनतम पारिश्रमिकमै सेवा गर्नुपर्‍यो। रित्तो हात घर फर्किनुपर्दा मन दुख्नु स्वाभाविक हो,” उहाँले भावुक हुँदै भन्नुभयो।

यद्यपि, सेवा निवृत्तिका अवसरमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले गरेको सम्मानप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्कीको लामो सेवा, इमान्दारिता र समर्पणको कदर गर्दै विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट रु. ३ लाख ६६ हजार ३ सय प्रोत्साहन रकम प्रदान गरेको छ। त्यसैगरी गौरीशङ्कर पूर्व विद्यार्थी समाज ले पनि सम्मानस्वरूप रु. ३५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्कीले विद्यालयको विकास र अनुशासन कायम गर्न पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखद् अवकाश जीवनको शुभकामना व्यक्त गरेका थिए।

दशकौँसम्म विद्यालयको अभिन्न सदस्यका रूपमा सेवा गर्नुभएका कार्कीको बिदाइले विद्यालय परिवारलाई भावुक बनाएको थियो। सम्मानस्वरूप प्राप्त सहयोग र सबैको माया नै आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ भएको उहाँले बताउनुभयो।

उहाँसँगै शिक्षक श्याम कार्की पनि ससम्मान बिदाइ हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार