रामेछापको पुरानो सदरमुकाम स्थित रामेछाप बजारमा साप्ताहिक बिहीबारे हाटमा खसी–बाख्रा बिक्री गर्दा तिर्नुपर्ने कर वृद्धि भएपछि किसान तथा व्यवसायी आक्रोशित बनेका छन्।
चालु आर्थिक वर्षदेखि हाटमा एउटा खसी वा बाख्रा बिक्रीका लागि प्रति गोटा १ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि सोही हाटमा एउटा खसी वा बाख्रा बिक्री गर्दा ६० रुपैयाँ मात्र कर तिर्नुपर्ने व्यवस्था थियो।
रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षका लागि उक्त साप्ताहिक हाट बजार २ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाएको छ। ठेक्का सम्झौतापछि कर दर बढाइएसँगै हाटमा खसी–बाख्रा बिक्री गर्न आउने किसान र व्यापारीले अतिरिक्त आर्थिक भार परेको गुनासो गरेका छन्।
यस्तो छ करको दर :

स्थानीय किसानहरूले कुनै पूर्वसूचना वा पर्याप्त छलफलविना कर वृद्धि गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। रामेछाप नगरपालिका ७ का गणेश बहादुर बस्नेतले पशुपालनबाट हुने आम्दानी नै घटिरहेको अवस्थामा कर वृद्धि गरिनुले साना किसानलाई प्रत्यक्ष असर परेको बताउनुभयो । ‘पहिले ६० रुपैयाँ तिथ्र्यौं, अहिले एक्कासि १ सय रुपैयाँ तिर्नुपरेको छ। यसले किसानलाई थप मारमा पारेको छ’ उहाँले गुनासो गर्नुभयो ।
व्यवसायीहरूले पनि कर वृद्धि गर्दा हाटमा पशु ल्याउने संख्या घट्न सक्ने र यसले स्थानीय बजारको कारोबारमा समेत नकारात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूले नगरपालिकालाई कर दर पुनरावलोकन गर्न आग्रह गरेका छन्।
रामेछाप नगरपालिकाले भने ठेक्का सम्झौता र राजस्व व्यवस्थापनको आधारमा कर निर्धारण गरिएको जनाएको छ । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले नगरसभामा व्यापक छलफलपछि गत वर्षहरुको तुलनामा यस वर्ष हाटमा उठाईदै आएको शुल्कहरु हेरफेर गरिएको बताउनुभयो । हाटमा उठाइएको कर हाट बजार व्यवस्थापनमै खर्च हुने भएकाले यसलाई थप व्यवस्थित बनाउनमै सो रकम खर्च हुने उहाँको भनाई छ ।
स्थानीय किसान तथा व्यवसायीहरूले कर दर पुनः कायम गर्न वा वृद्धि गर्नुको स्पष्ट आधार सार्वजनिक गर्न नगरपालिकासँग माग गरेका छन्।
स्थानिय किसानले कर तिरेको रसिद :



