जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार परिवर्तित नाम २८(१) खाँडादेवी गाउँपालिकाकी एक महिलाले दिएको जाहेरीका आधारमा प्रतिवादी तिलक बहादुर नेपाली पक्राउ परेका हुन्। पीडित महिला आफ्नै घरको कोठामा एक्लै सुतिरहेको अवस्थामा प्रतिवादी नेपालीले गत साउन ४ गते बिहान करिब २ बजे घरको ढोका फुटाई जबरजस्ती घरभित्र प्रवेश गरी करणी गर्ने प्रयास गरेका थिए।
प्रहरीका अनुसार प्रतिवादीले जबरजस्ती करणी गर्न खोज्दा पीडित महिलाले खुकुरी लिएर प्रतिकार गरेकी थिइन्। प्रतिकारका क्रममा प्रतिवादीको बाँया पाखुरामा चोट लागेको थियो। त्यसपछि प्रतिवादी घटनास्थलबाट फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चोप्राङ रामेछापबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा प्रतिवादीलाई मन्थली नगरपालिका–१ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ परेका प्रतिवादीविरुद्ध पीडितको जाहेरीका आधारमा जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।


