मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

रामेछापको  मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँ बराबरको आय–व्यय अनुमान सार्वजनिक गरेको छ।

शिक्षित, स्वस्थ र व्यवसायिक शहर : उत्थानशील र समृद्ध मन्थली नगर” भन्ने मूल नाराका साथ सोमबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख इश्वरी बस्नेतले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये ७४ प्रतिशत चालुतर्फ२६ प्रतिशत पुँजीगततर्फ खर्च गरिने जनाइएको छ। मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबर्षि सापकोटाका अनुसार आगामी आर्थिक वर्षको बजेट गत वर्षको तुलनामा १ करोड ४५ लाख ४९ हजार रुपैयाँले कम हो।

बजेट घट्नुको कारणबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले चालु आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आम्दानीमा कमी आएको र त्यसकै प्रभाव आगामी वर्षको बजेटमा परेको बताउनुभयो।

नगरसभामा नगर प्रमुख लव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास, सुशासन, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, वन तथा वातावरण संरक्षण र न्यायिक समितिसम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

नगरपालिकाले आगामी वर्ष स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, चालु तथा पुँजीगत बजेट अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्षमा भएको आय–व्यय तथा खर्चको विवरण पनि अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार