रामेछापबाट निर्वाचित सांसद,ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

रामेछापबाट निर्वाचित सांसद,ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

रामेछापबाट निर्वाचित सांसद एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा पर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको हो । यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उहाँले सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उहाँले बताउनुभएको थियो । राज्यमन्त्री तामाङ र घिसिङ दुवै रामेछाप जिल्लाका हुनुहुन्छ ।

त्यतिमात्रै होइन, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उहाँले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्नुभएको थियो । जबकि, सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन ।

मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ । तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री नियुक्त हुनुभएको थियो । नेपाली कांग्रेस रामेछापका सभापति समेत रहेका तामाङ रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार