रामेछापको रामेछाप नगरपालिका वडा नं ८ की कोपिला मगरले तरकारी खेती सम्बन्धि १५ दिने तालिम लिनुभयो । उहाँले १५ दिने तालिममा तरकारी खेतीसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी लिँदै सिप समेत सिक्नुभयो ।
टनेला बनाउने तरिका,नर्सरीमा बिरुवा उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु तालिमबाट सिकेको उहाँले बताउनुभयो । तरकारी खेती गरिरहेको भएपनि प्राविधिक ज्ञान नहुँदा सोचे जस्तो उत्पादन नभएको मगरले बताउनुभयो । सिपसँगै तरकारी खेतीको लागी आवश्यक पर्ने टनेला पाएको भन्दै उहाँले तरकारी खेतीलाई अझ विस्तार गर्ने बताउनुभयो ।
रामेछाप नगरपालिका ८ का राम कुमार शाहीले १ महिने हाउस वाईरिङ्ग तालिम लिनुभयो । वाईरिङ्ग सम्बन्धि कुनै पनि ज्ञान नभएका शाहीले अहिले तालिम लिएपछि वाईरिङ्ग गर्न सक्ने भएको बताउनुभयो । वाईरिङ्ग गर्नका लागि आवश्यक सामाग्रीहरु समेत प्राप्त गरेको भन्दै उहाँले अब आफ्नो गाउँघरमा बत्ति जडान तथा मर्मतको काम गर्ने बताउनुभयो ।
रामेछाप नगरपालिका वडा नं ८ कै द्रुतराम नेवा खड्गीले पशुपंक्षिसँग सम्बन्धित विभिन्न जानकारीसँगै आवश्यक सिप सिक्नुभयो । खसीबाख्रा,गाईभैँसी र कुखुराहरु पालिरहेको भएपनि रोग पहिचान र उपचारको बारेमा कुनै जानकारी नहुँदा समस्या हुँदै आएको र अहिले तालिमपछि धेरै कुराहरु सिकेको उहाँले बताउनुभयो ।
रामेछाप नगरपालिकाको आयोजना र ग्रामिण विकास प्रमोशन प्रा.लीको सहजीकरणमा रामेछाप नगरपालिका ८ का ५० जनाले विभिन्न सिप विकास तालिम लिएका हुन । तरकारी खेती,हाउस वाईरिङ्ग र पशुपंक्षि सम्बन्धि तालिममा सहभागीहरुले सिपसँगै आवश्यक समाग्रीहरु पनि प्राप्त गरेका छन ।
तरकारी खेती सम्बन्धि तालिम २० जना,हाउस वाईरिङ्ग सम्बन्धि तालिम १५ जना र पशुपंक्षि सम्बन्धि तालिम १५ जनाले लिएको ग्रामिण विकास प्रमोशन प्रा.लीका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताउनुभयो । यो तालिम संचालनको लागी ४ लाख २४ हजार रुपैया खर्च भएको उहाँले बताउनुभयो । यसभन्दा अघि तालिम लिएका २० जनालाई अबको केही दिन भित्रमै पुन ताजगी तालिम दिईने उहाँको भनाई छ ।
शुक्रबार(आज) वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गको अध्यक्षता र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । तालिममा सहभागीहरु र प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको हो । तरकारी खेती सम्बन्धि तालिम लिएकाहरुलाई एक÷एक सेट टनेला,हाउस वाईरिङ्ग तालिम लिएकाहरुलाई वाईरिङ्गका लागी आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।