मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित हुनुभएको छ । मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा थापा निर्वाचित हुनुभएको हो ।
थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याउनुभएको हो ।
त्यसैगरी सचिव र कोषाध्यक्ष पदमामा पनि अनेरास्ववियुकै उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै मसली तामाङ निर्वाचित हुनुभएको हो ।
भण्डारीले १ सय ८५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी नेविसङ्घका युवराज बुढाथोकीले १ सय ६५ मत ल्याउनुभयो । अखिल क्रान्तिकारीका बिनिता माझीले ७० मत ल्याउनुभयो ।
कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर निर्वाचित हुनुभयो । नेविसङ्घको तर्फबाट कोषाध्यक्षका उम्मेदवार छाया तामाङले १ सय ३६ मत ल्याउनुभयो ।
अखिल क्रान्तिकारीका उम्मेदवार राजकुमार श्रेष्ठले ७९ मत ल्याउनुभयो । ५ सय ३१ मतदाताहरु रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ४ सय २७ जनाले मतदान गरेका थिए ।