रामेछाप रामेछाप नगरपालिका भित्रका ३५ वटा सहकारी संस्था सम्पर्कविहीन अवस्थामा रहेको पाइएको छ । कृषि विकास कार्यालय मन्थलीमा विभिन्न समयमा दर्ता भएका ३५ वटा सहरकारी सम्र्कविहीन अवस्थामा रहेको पाइएको हो ।
हाल उक्त सहकारी संस्थाका सञ्चालकहरु सम्र्पकमा नरहेको बताइएको छ । सम्पर्कविहीन अवस्थामा रहेका सहकारी संस्थाहरुले तत्कालीन समयमा कृषि विकास कार्यालयमा दर्ता भएपछि अनुदान बापतको रकम १/१ लाख रुपैयाँ गरी कूल ३५ लाख रुपैयाँ लिएका थिए ।
तर हाल ती सहकारी सम्पर्क विहीन अवस्थामा रहेको आर्थिक वर्ष २०७९।०८० को महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यी सहकारी संस्थाहरुको बचत संकलन तथा ऋण परिचालन गरे नगरेको समेत खुलेको छैन ।
सहकारी संस्थाहरुलाई प्रचलित कानून बमोजिम सम्पर्कमा ल्याई शेयर सदस्यहरुको लगानी र बचतको सुरक्षाको प्रत्याभुत गर्नेतर्फ ध्यान समेत पालिकालाई महालेखाले सचेत गराएको छ । आर्थिक वर्ष २०७९।०८० को महालेखा प्रतिवेदनमा भनिएको छ, ‘कृषि विकास कार्यालय मन्थलीमा विभिन्न मितिमा दर्ता भएका ३५ वटा बचत तथा ऋण उपभोक्ता सहकारी संस्था र कृषि सहकारी संस्था हाल सम्पर्क भन्दा बाहिर रहेका छन् भन्ने विवरण प्राप्त भएको छ ।
उक्त सहकारी संस्थालाई कृषि विकास कार्यालयमा दर्ता भए पश्चात रु.१ लाख अनुदान नेपाल सरकारले दिने व्यवस्था अनुरुप रु. ३५ लाख सहकारी संस्थाहरुलाई अनुदान स्वरुप वितरण गरेको देखिन्छ ।
हाल उक्त सहकारी संस्थाका संचालकहरु सम्पर्कमा नरहेको पालिकाको भनाई रहेको छ । उक्त सहकारी संस्थाहरुको बचत संकलन तथा ऋण परिचालन गरेको वा नगरेको खुलेको छैन । पालिकाले सम्पर्क बाहिर रहेका सहकारी संस्थाहरुलाई प्रचलित कानून बमोजिम सम्पर्कमा ल्याउने र शेयर सदस्यको लगानी र वचतको सुरक्षाको प्रत्याभुत गर्ने तर्फ ध्यान दिनुपर्दछ, भनिएको छ ।’