जंगली जनावरले असाध्यै दुःख दिएको रामेछापका जुनार कृषकको गुनासो

जंगली जनावरले असाध्यै दुःख दिएको रामेछापका जुनार कृषकको गुनासो

रामेछापका जुनार कृषकहरुले जंगली जनावरले असाध्यै दुःख दिएको बताएका छन । पाकेको जुनार बाँदर,मृग लगायतका विभिन्न जंगली जनावरहरुले नष्ट गरिदिने गरेको उनिहरुको गुनासो छ ।

शुक्रबार(आज)जुनार जोन संचालन समन्वय समिति रामेछापको वडा नं ७ सुकाजोर वडाकार्यालयमा भएको घुम्ती बैठकमा सहभागी किसानहरुले सो गुनासो गरेका हुन । जुनार कृषक राम कुमार कार्कीले बाँदरले अरु बालिनालीसँगै जुनारमा पनि क्षति गर्न थालेको बताउनुभयो । जुनारको दाना झार्ने,टोक्ने जस्ता क्रियाकलाप गरेर बाँदरले धेरै दुःख दिएको उहाँले बताउनुभयो ।

अर्का जुनार कृषक ज्ञान बहादुर तामाङ्गले हावापानी सुहाउँदो जुनारको विरुवा नहुँदा बिरुवा मर्ने समस्या देखा परेको बताउनुभयो । अरु ठाउँहरुबाट खरिद गरेको बिरुवा रोपेका धेरै किसानहरुले हुर्काउनै नसकेको उहाँले बताउनुभयो । रामेछापमै राम्रो नर्सरी संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जुनार कृषक इन्द्र तामाङ्गले यो वर्ष जुनारले राम्रो मूल्य पाएको बताउनुभयो । किसानले बगैँचामै ५० देखी ७० रुपैया किलोसम्म जुनार बिक्रि गरेको उहाँको भनाई छ ।

पत्रकार राजन महतारा क्षेत्रीले जुनारको उत्पादन,गुणस्तर,ब्राण्डिङ्ग,लेबलिङ्ग,प्याकेजिङ्ग र बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न जुनार जोन संचालन समन्वय समितिलाई आग्रह गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यता र जुनार जोन संचालन समन्वय समितिका अध्यक्ष गुन्ज बहादुर कार्कीको अध्यक्षतामा बैठक बसेको हो ।

वडामा आएर बैठक संचालन गरेकोमा जुनार जोन संचालन समन्वय समितिलाई धन्यवाद व्यक्त गर्दैै प्रमुख अतिथि कार्कीले वडाले जुनारको बगैँचा व्यवस्थापन गर्नका लागी बजेट नै विनियोजन गरेको बताउनुभयो । उहाँले अब जुनारबाट बन्ने जुस लगायत विभिन्न पिय पदार्थहरु उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

जुनारको कृषकहरुको समस्या सुन्न घुम्ती बैठक बस्ने निर्णय भए अनुसार सुकाजोर वडा कार्यालयमा कृषि प्राविधिक सहित छलफल तथा बैठक बसेको जुनार जोन संचालन समन्वय समिति रामेछापका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताउनुभयो । छलफल तथा बैठकबाट आएका निर्णय तथा सुभावहरुलाई अब कार्यक्रम बनाउँदा प्राथमिकतामा दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार