पहिलो चौमासिकमा मन्थली नगरपालिकाको खर्च २० प्रतिशत मात्रै

पहिलो चौमासिकमा मन्थली नगरपालिकाको खर्च २० प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको २० प्रतिशत मात्रै रकम खर्च गरेको छ । शुक्रबार (आज) मन्थली नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुरा बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

नगरपालिकाले जम्मा बजेट १ अर्ब १ करोड ९७ लाख ८१ हजार रहेकोमा २० प्रतिशत मात्रै रकम खर्च गरेको हो ।  यो अवधिसम्म चालु तर्फ ७० करोड ४ लाख ५५ हजार बजेट रहेकोमा २६ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा ६ प्रतिशत मात्रै बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

यो अवधिसम्म नगरपालिकाले १ करोड ७३ लाख रकम राजश्व संकल गरेको छ । साना ठुलागरी ३ सय ७० वटा योजनाहरु रहेकोमा १०८ वटा सम्झौता भई २५ वटा योजनाको काम सम्पन्न भएर भुक्तानी समेत भैसकेको छ ।

एकीकृत घुम्ती शिविर सहित वडा नं ७ भटौलीमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित गुनासो राखेका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,विपद व्यवस्थापन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ र वडा नं ७ का वडाअध्यक्ष भुवनहरि प्रसाइले दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नु हुँदै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले समृद्ध नगरपालिका बनाउन सबैजना एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकले सोधेको प्रश्न,जिज्ञासा तथा गुनासोलाइ मुख्य प्राथमिकतामा राखेर सेवा प्रवाह र विकास निर्माणको कामलाइ अघि बढाउने बताउनुभयो ।

हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि,वडा तथा पालिकाका कर्मचारी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार र धेरै नागरीकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार