महाकाली आधारभूत विद्यालयलाई मौरी पालनको लागी घार वितरण

महाकाली आधारभूत विद्यालयलाई मौरी पालनको लागी घार वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयलाई वडाले मौरी पालनको लागी घार वितरण गरेको छ । मौरी पालनको लागी राम्रो हावापानी र उचित वातावरण रहेको मुडाजोरलाई मौरी पकेट क्षेत्र विकास गर्नको लागी विद्यालयलाई मौरी घार वितरण गरिएको हो ।

एउटा मौरी सहितको गरी १० वटा घार विद्यालयलाई वितरण गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । मौरी पालनबाट भएको आम्दानीले विद्यालय सञ्चालनका लागि आर्थिक अभाव नहुनुका साथै निजी श्रोतमा शिक्षकहरु राख्न सहज हुने विश्वास आफुले लिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

अहिले वडाले प्रदान गरेको मौरीको घारमा मौरीहरु हालेर आम्दानीको श्रोत बनाउन उहाँले विद्यालयलाई आग्रह गुर्नभयो । विद्यालय वरपर विभिन्न प्रजातिका फूलहरु लगाइएको छ । एक वर्षे भन्दा पनि बहुबर्षे फूलका बिरुवा लगाउन वडाअध्यक्ष कार्कीले अनुरोध गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले वडाले प्रदान गरेको मौरी घारलाई प्रयोगमा ल्याएर आम्दानीको श्रोत बनाउने बताउनुभयो । वडा कार्यालयले गत वर्ष शैक्षिक भ्रमणमा लगेपछि असल र राम्रो अभ्यास गरिरहेका विद्यालयहरुबाट प्रभावित भएर आफ्नो विद्यालयमा पनि धेरै सुधारका कामहरुको सुरुवात भएको प्र.अ घिसिङ्गले बताउनुभयो । सोही अनुरुप मौरी पालन कार्यक्रमलाई पनि जोड दिइएको उहाँले बताउनुभयो । वडाले यो विद्यालयलाई धेरै सहयोग गरेको प्र.अ घिसिङ्गको भनाई छ ।

यो विद्यालयले हायु जातिका विद्यार्थीलाई हायु भाषा पनि पठनपाठन गराउँदै आएको छ । विद्यालयले हिउँदे तथा बर्खे बिदामा समेत नियमित कक्षा संचालन गर्ने गरेको छ । विद्यालयले हप्ताको ५ दिन शुक्रबार बाहेक अन्य दिन बिहान ८ बजेदेखी दिउँसो ५ बजेसम्म नियमित कक्षा संचालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार