रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र,स्वास्थ्य चौकीबाटै सेवा प्रवाह

रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र,स्वास्थ्य चौकीबाटै सेवा प्रवाह

रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र परेको छ । जिल्लाको दुर्गम पालिका उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डारमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम अलपत्र बनेको हो । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार अस्पताल निर्माणको काम सुरु भएको थियो ।

१० शैयाको अस्पताल भवन निर्माणको काम थालेको ३ वर्ष हुन लाग्दा समेत अझै निर्माण सम्पन्न नभएको हो । २ वर्ष भित्र निर्माण सक्नेगरी गौरा बंगलामुखी उमाकुण्ड जेभीले भवनको निर्माणको काम थालेको थियो । सरकारले रकम भुक्तानी नगर्दा समयमै काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीका संचालक विजय सुनुवारले बताउनुभयो । गत असारमै निर्माण सप्पन्न हुनु पर्ने भवनको काम दुई पटक म्याद थपेर अन्तिम पटक थपेको म्याद पनि यहि पौषमा सकिने उहाँले बताउनुभयो ।

४८ कोठे एक तले भवन भ्याट बाहेक ७ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको थियो । अस्पताल भवनको निर्माण सम्पन्न भएपनि रंगरोगन,बत्ति जडान र ट्वाईलेट/बाथरुमको केही सामानहरु जडानको काम मात्रै बाँकी रहेको ठेकेदार सुनुवारले बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकाले बाम्ती अस्पताललाई गाउँपालिका स्तरको अस्पताल सञ्चालन गर्ने भनेर काम सुरु गरेको भएपनि भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य चौकीकै भवनबाट सेवा प्रवाह हुँदै आएको छ । सरकारले ठेक्का लगाउने तर बजेट नपठाएका कारण भवन निर्माणमा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताउनुभयो । पटक पटक आफुहरु मन्त्रालय गएर पत्र समेत बुझाएको भन्दै उहाँले सरकारकै ढिलासुस्तीका कारण समयमै काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

भूकम्प प्रतिरोधी,अपाङ्गतामैत्री अस्पताल भवन निर्माण भएको छ । सो भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको व्यवस्था गरिने गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक अभिजीत सुनुवारले बताउनुभयो । समयमै अस्पतालको भवन निर्माण सम्पन्न भएर संचालनमा आए उमाकुण्ड गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सदरमुकाम मन्थली,जिरी,धुलिखेल र काठमाण्डौँ पुग्नुपर्ने बाध्यता हट्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार