रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको १५.५५ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट १ अर्ब १ करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत मात्रै रकम खर्च गरेको हो ।
यो अवधिसम्म चालु तर्फ ७० करोड ४ लाख ५५ हजार बजेट रहेकोमा २१.९ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा १.६५ प्रतिशत बजेट खर्च भएको हो ।
मन्थली नगरपालिकाका उप सचिव एवं सूचना अधिकारी हेमन्त कुमार बुढाथोकीका अनुसार साना ठुलागरी ४ सय योजनाहरु रहेकोमा २५ प्रतिशत योजना मात्रै सम्झौता भएको छ । ७ वटा योजनाको काम सम्पन्न भएर भुक्तानी समेत भइसकेको छ ।
धेरै योजनाहरु सम्झौताकै चरणमा रहेको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । यस आर्थिक वर्षको चैत्रसम्म सबै योजनाहरुको काम सम्पन्न गरेर भुक्तानी गरिसक्नेगरी गरी कामहरु भइरहेको उहाँको भनाई छ ।