नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई

नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई

‘नमुनादीप कप’ को उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ । बुधबार अरुणोदय मावि सैपुमा लिखु गाउँपालिका ‘ए’ ओखलढुंगालाई ३–१ को सेटमा पराजित गर्दै लिखु तामाकोशीले ‘नमुनादीप कप’को उपाधि हात पारेको हो ।

पहिलो सेट १९–२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५–२१ ,२५–२१,२५–२२ ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो । मंगलबार दुवै टिमले २–२ सेट जितेका थिए । तर, बाँकी खेल खेलाउनका लागि अँध्यारो भएपछि बुधबार खेलाइएको हो ।

प्रतियोगिताको विजेता टोली लिखु तामाकोशीले १ लाख १ हजार ५ सय र उपविजेता बनेको लिखुले ७५ हजार ५ सय नगदसहित शिल्ड, मेडल पाएको सहसचिव निरज पौडेलले जानकारी दिनुभयो । उहाँको अनुसार दशौं संस्करणको नमुनादीप कपमा गोकुलगंगा गाउँपालिका रामेछापले तृतीय स्थान हासिल गरेको छ । मंगलबार लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको हो । तेस्रो हुने टोलीले शिल्डसहित ५० हजार ५ सय प्राप्त गरेको छ ।

विधागतरुपमा लिखु तामाकोशी गाउँपालिकाका विशाल ढुंगेल (बेस्ट स्पाइकर),सागर तामाङ (बेस्ट लिब्रो), रोशन मगर (सर्वोकृष्ट), लिखु ओखलढुंगाका युवराज श्रेष्ठ (उत्कृष्ट सेटर) र गोकुलगंगाका विवेक कार्की (बेस्ट ब्लकर) बन्नुभयो । उहाँहरुले नगद ३ हजारसहित शिल्ड प्राप्त गर्नुभयो  ।

प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । पालिकास्तरीय प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउने र लिखु क्षेत्रमा खेल पर्यटन विकास गर्न भलिबल आयोजना गरेको क्लबले जनाएको छ । क्लबले विभिन्न दाताहरुसँग रकम संकलन गरेर प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए। प्रतियोगितामा लिखु गाउँपालिकाबाटै ३ टिम दर्ता भएका थिए ।

यसैबीच क्लबले बुधबार बिहान भएको टग अफ वार प्रतियोगितामा अरुणोदय मावि विजयी भएको छ । लिखु गाउँपालिकालाई हराउँदै अरुणोदय माविको टिम विजयी भएको हो । टग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार