‘नमुनादीप कप’ भलिबल आइतबारबाट सैपुमा हुँदै,राज्यमन्त्रीले उद्घाटन गर्ने

‘नमुनादीप कप’ भलिबल आइतबारबाट सैपुमा हुँदै,राज्यमन्त्रीले उद्घाटन गर्ने

दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता आइतबारबाट सैपुमा सुरु हुने भएको छ। नमुनादीप युवा क्लबले गर्ने पालिकास्तरीय भलिबल प्रतियोगिता कार्तिक ११, १२ र १३ गते हुने अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो।

लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको प्रांगणमा हुने प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेको बस्नेतको भनाई छ। प्रतियोगितामा पालिकाभित्रका खेलाडीमात्र समावेश गरेर स्थानीय तह, क्लब/संस्थाले टीम दर्ता गर्न सक्नेछन्। टिम दर्ता शनिबार बेलुकासम्म गर्न सकिने क्लबले जनाएको छ। प्रतियोगिताको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले गर्नुहुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सचिव प्रज्वल पौडेलले जानकारी दिनुभयो।

क्लबले प्रतियोगिताका लागि २० लाख खर्च हुने आँकलन गरेको छ। प्रतियोगिता सम्पन्न गर्नको लागि क्लबले जिल्लाका विभिन्न व्यवसायी र शुभेच्छुकबाट आर्थिक सहयोग जुटाइरहेको उहाँको भनाई छ । ‘खेलकुद क्षेत्र आजको विश्वमा उद्योगको रुपमा समेत विकसित भइरहेको छ। क्लबसँग रकम छैन तर खेलकुद क्षेत्रको अग्रणी जिल्लाको रुपमा चिनाउन र खेलाडीको सीप, क्षमता विकासका लागि चन्दा उठाएर भएपनि प्रतियोगिता गर्न लागेका छौं।’ पौडेलले भन्नुभयो , ‘हामीले स्थानीय खेलाडीको प्रोत्साहनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं।’

क्लबले पालिकास्तरीय प्रतियोगितालाई राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउन पुर्‍याउने विश्वास व्यक्त गरेको छ। ‘लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, कलाकार तथा खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने भएकाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं’ क्लबद्वारा जारी सूचनामा भनिएको छ।

क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौं संस्करण हो।

यसैबीच क्लबले भलिबल खेलको साथमा डोरी तान (टग अफ वार) प्रतियोगिताको पनि आयोजना गरेको छ। टग अफ वारका विजेताले २० हजार नगद र उपविजेता टोलीले १० हजार नगद पुरस्कार पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार