रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामेछापले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका ११ जना बिरामीलाई फलफूल वितरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्की,रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्ग,अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठ सहितको उपस्थितीमा फलफूल वितरण गरिएको हो ।

स्याउ,केरा,बिस्कुट र जुस अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा रामेछापका सभापति रविन्द्र कुमार श्रेष्ठ(दिनेश)ले बताउनुभयो ।

मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रसमा ११ लाखभन्दा धेरै स्वयंसेवक मानवीय सेवाको कार्यमा सक्रिय रहेका छन ।

रेडक्रसको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र ६ हजार ९ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सदस्य संस्थाका रुपमा स्थापना भई देशभर मानवीय सेवाका काम गर्दै आएको छ ।

रेडक्रसले सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता गतिविधि देशैभर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार