रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह भालुखोपमा गएरातिको अविरल वर्षाले ६ घरमा क्षति पुगेको छ । घरमाथिको डिलबाट खसेको पहिरोले ६ घरमा क्षति पुगेको स्थानिय प्रेम कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
राति अन्दाजी ९/१० बजेको समयमा खसेको पहिरोले घरहरु क्षति गरेको र केही पशु चौपाया समेत पुरिएको उहाँले बताउनुभयो । पहिरोले २ घरमा पूर्ण रुपमा क्षती पुर्याएको छ । ४ घरमा आंशिक रुपमा क्षति पुर्याएको बुढाथोकीले बताउनुभयो ।
बाबुराम बुढाथोकी,लिला बहादुर बुढाथोकी,लेख बहादुर बुढाथोकी लगायतको घर पहिरोले क्षति गरेको हो । रातको समयमा घटना भएको कारण उद्धारको काम समेत नभएको उहाँले बताउनुभयो ।
यो घटनामा कुनै मानविय क्षति भने नभएको बुढाथोकीले बताउनुभयो । सो गाउँका ८/१० घर पहिरोको उच्च जोखिममा रहेको उहाँको भनाई छ ।
पहिरोले क्षति गरेको घरहरु र मरेका पशु चौपायाहरुको उद्धारको काम भइरहेको सो वडाका वडाअध्यक्ष रोम बहादुर तामाङले बताउनुभयो । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले आफु पनि घटनास्थल तर्फ जाँदै गरेको बताउनुभयो ।