रामेछापमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास

रामेछापमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै भंगेरीमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । रामेछाप अस्पताल रामेछापको आयोजनामा पहिरोको घटनापछिको उद्धार र घाइतेहरुको उपचार लगाएको बारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । पहिरोको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धार र उपचारलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा कृत्रिम अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा रामेछाप नगरपालिका ८ भंगेरी गैरी गाउँमा अविरल वर्षाका कारण केही घरहरुमा पहिरोले क्षती पुर्याएको र केही मानिसहरु घाइते भएको दृश्य देखाइएको थियो । पहिरोमा परेका व्यक्तिको उद्धार गरी छिटोभन्दा छिटो अस्पताल पुर्याएर व्यवस्थित रुपमा घाइतेहरुको उपचारमा जोड दिइएको थियो ।

सुरक्षा फौजको टोली,नेपाल रेडक्रसको टोली,प्रहरी र स्थानियले पहिरोमा परेका व्यक्तिलाई झण्डै आधा घण्टासम्मको प्रयासपछि बाहिर निकालेर प्राथमिक उपचारपश्चात् एम्बुलेन्सबाट अस्पताल पठाएको थियो ।

घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएपछि के कसरी व्यवस्थापन गरिन्छ भनेर पनि अभ्यासका क्रममा देखाइएको थियो । सोे पहिरोको कृत्रिम घटना अभ्यासमा सरोकारवाला निकायको सहभागिता रहेको थियो । खड्ग दल गण रामेछापको सुरक्षा फौजको टोलीले घाइतेको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आर बि पि डल्लु रामेछाप र समाजसेवा महिला जागृती सहकारीका कालाकारहरुले दमदार अभिनय गरेका थिए ।

विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्वअभ्यास गराइएको रामेछाप अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अचुत पौडेले बताउनुभयो । विपदको बेला हुने खोज,उद्धार र उपचारको कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अस्पतालले हरेक वर्ष कृत्रिम घटना अभ्यास कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार