मुहान सुक्दै गएपछि रामेछापका धेरै ठाउँमा खानेपानीको अभाव

मुहान सुक्दै गएपछि रामेछापका धेरै ठाउँमा खानेपानीको अभाव

खानेपानीका मुहान सुक्दै गएपछि रामेछापका धेरै ठाउँमा खानेपानीको अभाव हुन थालेको छ । यसै पनि सुख्खाग्रस्त क्षेत्र घोषित रामेछापमा पछिल्लो समय पानीका स्रोत सुक्दै गएपछि नागरिकलाई झनै सास्ती हुन थालेको हो । सदरमुकाम मन्थली नगरपालिका २ कठजोर गाउँमा धेरैजसो पानीका मुहान सुकेका छन् । सुकि नसकेका धारा र कुवामा पनि पानी कम मात्र आउन थालेपछि खानेपानी यहाँको मुख्य समस्या बनेको छ ।

गाउँमा पानीको आपूर्ति गर्ने वैकल्पिक मुहान नभएपछि यहाँका बासिन्दा कोसी किनारमा बसाईँ सर्न थालेका छन् । जसले गर्दा कठजोर गाउँका खेतबारी बाँझै हुन थालेको छ । एक घण्टा टाढा रहेको मुहानबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यतामा स्थानीय बासिन्दा छन् । कठजोरका ५० भन्दा बढी घरधुरीका लागि एउटा मात्र धारा भएकाले पानी भर्न बिहानैदेखि लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता गाउँलेलाई छ । खानेपानीको अभाव हुँदा पुरुषलाईभन्दा महिलालाई बढी समस्या हुने गरेको स्थानीयबासिन्दा अञ्जु अधिकारीले बताउनुभयो ।

सरकारले भने कठजोर लगायत रामेछापका विभिन्न ठाउँमा खोनेपानीको समस्या समाधानका लागि काम गरिरहेको दाबी गरेको छ । जिल्लाका ८ हजार घरधुरीलाई सहज रुपमा पानी पु¥याउने उद्देश्यका साथ काम भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।

चुनावका बेला खानेपानीको व्यवस्थापन गर्ने मुद्दा सबै राजनीतिक दल र उम्मेदवारको हुने गरे पनि त्यसपछि यो विषयले प्राथमिकता नपाउने गरेको स्थानीय नागरिकको गुनासो छ । खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न दीर्घकालिन उपायको खोजी गर्नुपर्ने उनीहरूको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार