रामेछाप नगरपालिकामा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

रामेछाप नगरपालिकामा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मेसिनद्वारा दुना टपरी बनाउने तालिम शुक्रबार(आज) बाट सुरु भएको छ । रामेछाप विजनेश एण्ड प्रोफेशनल वमेनको आयोजना र रामेछाप नगरपालिकाको समन्वयमा ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो ।

तलिम उद्धघाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वन जंगल,पाखापखेरामा खेर गैरहेका सालको पातलाई प्रयोगगरी महिलालाई स्वरोजगार बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले नगरलाई प्लाष्टिकमुक्त मात्र नभएर दुना टपरीबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न र वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम सिकेर उद्यमी बन्न चाहनेलाई नगरले सहयोग गर्ने उहाँले बताउनुभयो ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुवोध कुमार साह कर्मयोगीले कम लगानीमै स्थानिय स्रोत साधन प्रयोग गरेर दुना टपरी उद्योग संचालन गर्न सके महिलाहरु स्वरोजगार बन्ने बताउनुभयो । उहाँले दुना टपरी विक्रिका लागी बजारको समस्या नरहेको पनि बताउनुभयो । उद्योग संचालन गर्न चाहनेलाई उद्योग तथा वाणिज्य कार्यालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले सालका दुना टपरी प्रयोगले मानिसको स्वास्थ्य र वरपरको वातावरण पनि स्वच्छ हुने बताउनुभयो ।

नगरपालिकाले यसभन्दा अघि पनि दुना टपरी बनाउने तालिम दिएको थियो । केही वर्ष अघि नै खरिद गरिएको दुना टपरी बनाउने मेसिन खिया लागेर बसिरहेको अवस्थामा पुन नगरपालिकाले १० जना महिलालाई तालिम दिएको हो ।

यस पटक तालिममा सहभागी भएका महिलाहरुलाई अनिवार्य व्यवसायमा लगाउने उद्धेश्य रहेको नगरपालिकाका राजश्व तथा उद्योग शाखा प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार