ट्राफिक प्रहरी रामेछापले ७ महिनाको अवधिमा उठायो ४५ लाख बढी राजश्व

ट्राफिक प्रहरी रामेछापले ७ महिनाको अवधिमा उठायो ४५ लाख बढी राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ७ महिनाको अवधिमा ४५ लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट उक्त राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाइका अनुसार ट्राफिक नियम विपरीत सञ्चालन भएका ४ हजार ९ सय बढी सवारी साधन कारबाहीबाट ४५ लाख बढी राजश्व संकलन गरिएको हो । साना तथा ठुला गरी चार हजार ९ सय ८५ सवारी कारबाहीबाट ४५ लाख ६३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३८५ सवारी साधन कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० रुपैयाँ र असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी कार्तिक महिनामा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार ५०० रुपैयाँ, मङ्सिर महिनामा ७०० सवारी कारबाहीबाट ६ लाख ४५ हजार ५०० रुपैयाँ,पौष महिनामा ८०० सवारी कारबाहीबाट ६ लाख ८९ हजार ५०० रुपैयाँ र माघ महिनामा ७५० सवारी कारबाहीबाट ६ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो ।

ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा सवारी चेकजाँचमा कडाई गर्दै आएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने,बढी भाडा लिने,कागजपत्र नभएका जस्ता नियम विपरित संचालन भएका सवारी साधन कारबाहीबाट उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख चौलागाइले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार