स्वावलम्बन लघुबित्तले बचत फिर्ता नदिएको रामेछापका नागरीकको गुनासो

स्वावलम्बन लघुबित्तले बचत फिर्ता नदिएको रामेछापका नागरीकको गुनासो

रामेछाप नगरपालिका वडा नं ७ की सुनिता तामाङ्गले आजभन्दा १२÷१३ वर्ष अघि स्वावलम्बन लघुबित्तमा बचत गर्न सुरु गर्नुभयो । गाउँमै बैँक आयो भन्दै त्यसबेला उक्त लघुबित्तका केही कर्मचारी समुह बनाउन गाउँ पसे । गाउँमै आएको स्वाबलम्बन बैँक भन्दै लघुबित्तका कर्मचारीले धेरैलाई सदस्य बनाए । समुह पनि गठन गरे ।

त्यो समयदेखी हरेक महिना ३ सयदेखी एक हजारसम्म बचत गर्दै आउनुभएको थियो सुनिताले । कुनै समस्या परेको बेला आफुले बचत गरेको पैसा निकाल्न सकियोस भनेर लघुबित्तमा राखेको तर अहिले नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,“दशैँ आइसक्यो खर्च छैन । आफुले बचत गरेको पैसा माग्यो दिँदैनन ।” उमेरले ६० वर्ष पुग्नै लाग्नुभएकी सुनिताको परिवारमा कमाउने कोही छैन ।

आफुले बचत गरेको पैसा झिकेर दशैँ मान्ने योजनामा रहेकी सुनिताको यो दशैँ खल्लो हुने अवस्था छ । तिन महिना अघि नै बचत फिर्ता पाउँ भन्दै निवेदन दिएको भएपनि लघुबित्त संस्थाले आलटाल गरिरहेको सुनिताले बताउनुभयो । सुनिता मात्रै नभएर अरु पनि धेरै नागरीकले बचत गरेको पैसा स्वाबलम्बन लघुबित्तले फिर्ता दिएको छैन । रामेछाप नगरपालिका ७ पालेवनकी मिठु महताराले पनि यो लघुबित्तमा बचत गरेको ८ वर्ष भैसकेको छ ।

८ वर्षदेखी आफुले ऋण पनि नलिई पैसा मात्रै बचत गरेको उहाँले बताउनुभयो । “सबै प्रकृया पुरा गरेर निस्कन खोज्दा पनि स्वाबलम्बन लघुबित्त संस्थाले आलटाल गरिरहेको छ । साथै आफुले बचत गरेको पैसा समेत दिन मानेको छैन ।”उहाँले भन्नुभयो । त्यहाँका कर्मचारीले बचत गरेको जम्मा रकम पाउनु हुन्छ भन्दै आशमात्र देखाएको र पटक पटक फोन सम्पर्क गर्दा तपाईको काम चाडैं हुन्छ मात्रै भन्ने गरेको महताराले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले नागरीकको बचत फिर्ता नगर्ने स्वावलम्बन लघुबित्तलाई तुरुन्तै बचत फिर्ता गर्न निर्देशन दिने,नमानेको खण्डमा आवश्यक कारबाही अघि बढाईने बताउनुभयो । स्वावलम्बन लघुबित्त संस्था रामेछाप शाखाका प्रमुख सत प्रताप गोंगले बचत कर्ताको प्रकृया केन्द्रीय कार्यालय पठाइसकेको र केन्द्रबाट जानकारी आउनसाथ बचत फिर्ता गर्ने बताउनुभयो ।

संस्थाको पैसा ऋण लगानीमा धेरै गएका कारण बचत फिर्ता दिने रकम समेत नभएकाले पनि बचत फिर्ता गर्नमा ढिलाई भएको उहाँको भनाई छ । रामेछाप जिल्लामा स्वावलम्बन लघुबित्त जस्तै अरु धेरै लघुबित्तहरुले पनि बचत फिर्ता दिन आलटाल गर्ने गरेको नागरीकहरुले गुनासो गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार