सेलेघाट साँघुटार सडक आयोजनाको काम सुस्त,छिटो काम सक्न सरोकारवालाको निर्देशन

सेलेघाट साँघुटार सडक आयोजनाको काम सुस्त,छिटो काम सक्न सरोकारवालाको निर्देशन

रामेछापकोे साँघुटार सेलेघाट सडक आयोजनालाई छिटो भन्दा छिटो काम सक्न सरोकारवालाहरुले निर्देशन दिएका छन । आईतबार(आज) रामेछाप नगरपालिका वडा नं ७ को कार्यालयमा जनप्रतिनिधी,राजनीतीक दल,नागरीक समाज र पत्रकार सहितको बैठकले काम छिटो सक्न निर्देशन दिएको हो ।

रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको सहजिकरणमा भएको छलफल कार्यक्रममा उक्त सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधी विनोद भारतीलाई ध्यानाकर्षण गराइएको हो ।

छलफल कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले यतिका वर्ष भैसक्दा पनि आयोजनाले निकै सुस्त गतिमा काम गरेको भन्दै समयमै काम सक्न आयोजनालाई आग्रह गर्नुभयो । उहाँले यहि आयोजनाको भर परेकै कारण रामेछाप बजारको सडक अस्तव्यस्त भएको भन्दै सडक निर्माण छिटो सक्न निर्देशन दिनुभयो ।

रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बारम्बार सडक आयोजनाको ठेकेदारहरुलाई गुणस्तरीय काम गर्न आग्रह गरिए पनि उनिहरुले बेवास्ता गरेको बताउनुभयो । सडक निर्माणमा चाहिने स्थानिय स्रोत साधन लगायतका अरू जुनसुकै सहयोग गर्छौं भन्दा पनि ठेकेदार कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती गरेको उहाँको भनाई छ ।

सालुदेखी साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक ठाउँ ठाउँमा पहिरो जाने, भासिने साथै खाल्डो बनेपछि यातायात सञ्चालनमा समेत कठिनाई भएको छ । सडककै कारण विभिन्न बस्तीहरु समेत जोखिममा परेको वडा नं २ का वडाअध्यक्ष निर कुमार श्रेष्ठ र वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो ।

मन्थली नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राजन घिमिरे र रामेछाप नगरपालिका वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठले पनि आयोजनाले समयमै काम सक्ने अवस्था नदेखिएको बताउनुभयो । आयोजनाका ठेकेदारहरुले काम गर्दा अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको उहाँहरुको भनाई छ ।

नेपाली कांग्रेस रामेछाप नगरपालिकाका नेता गौतम कुमार श्रेष्ठ,नेकपा एकिकृत समाजवादीका नेता ढाल विक्रम कार्की लगायतले सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था,नागरीकले पाएको हैरानी र सास्तीका बारेमा बताउनुभयो ।

आयोजना प्रभावित सरोकारवालहरुको गुनासो सुनेपछि सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधी विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताउनुभयो । सरोकारवालहरुबाट आएको गुनासा र सुझावलाई टीसीआईएलका प्रमुख समक्ष आफुले प्रस्तुत गर्ने उहाँले बताउनुभयो । आयोजनालाई छिटो भन्दा छिटो काम सक्न सरोकारवालाहरुले पत्र समेत पठाएका छन ।

भारतीय एक्जिम बैंकमार्फत निर्माण हुँदै आएको सडकको जिम्मा भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको थियो । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक भताभुंग पारेर छोडिएको छ ।

५० किलोमीटर सडकको काम निकै सुस्त गतिमा भैरहेको छ । सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रमा सक्नुपर्ने गरी सम्झौता भएको हो । तर अहिले फेरी १७ महिना म्याद थपेको भएपनि सो समयसम्म काम सम्पन्न हुने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार