गोकुलगंगा गाउँपालिकाको दोश्रो चौमासिक अबधिसम्म ५५.९४ प्रतिशत रकम खर्च

गोकुलगंगा गाउँपालिकाको दोश्रो चौमासिक अबधिसम्म ५५.९४ प्रतिशत रकम खर्च

रामेछापको गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकम खर्च भएको छ । गाउँपालिकामा शनिबार आयोजित चालु आ.व. ०७९/८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत थापाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार गाउँपालिकाले चालु तर्फ रु ३३ करोड ८७ लाख ८० हजार र पुँजीगत तर्फ रु ३१ करोड ४१ लाख ६६ हजार गरी जम्मा रु ६५ करोड २९ लाख ४६ हजार विनियोजन भएकोमा चालु खर्च तर्फ हाल सम्म रु २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ १४ पैसा अर्थात ६५.११ प्रतिशत रकम खर्च भएको छ ।

त्यसैगरी पुँजीगत तर्फ रु १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ ९३ पैसा अर्थात् ४६.०५ प्रतिशत रकम खर्च भएको हो । चालु र पुँजीगत गरी कूल रु ३६ करोड ५२ लाख ९० हजार ४ सय ४ रुपैयाँ ०८ पैसा अर्थात् ५५.९४ प्रतिशत वितीय प्रगती हासिल भएको बताइएको छ ।

प्रहार मिडिया प्रा.लिको सहजीकरण भएको उक्त कार्यक्रमा बोल्दै गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश)ले पालिकाको विकास र सम्वृद्धिका लागी विभिन्न योजनाहरु बनाएर काम भैरहेको बताउनुभयो । पालिकामा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासमा पूर्वाधारहरुको कामले गति लिएको बताउनुभयो ।

गाउँपालिकाले आगामी दिनमा संचालन गर्ने समग्र विकास निर्माण कार्य एवं सेवा प्रवाहमा अझ बढी प्रभावकारीता र सुधार ल्याउन आम गाउँवासी नागरीकहरुबाट अमुल्य एवं रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । कार्यक्रममा सहभागी नागरीकहरुले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,लगाएत गाउँपालिकासँग जोडिएका विभिन्न विषयवस्तुरुमा रहेर प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्न,जिज्ञासा र गुनासाहरुको जवाफ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले दिनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार