रामेछाप बजार सुनसान,व्यवसायीहरु पलायन हुने अवस्थामा

रामेछाप बजार सुनसान,व्यवसायीहरु पलायन हुने अवस्थामा

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजार सुनसान भएपछि व्यवसायीहरुले पलायन हुने अवस्था सिर्जना भएको भन्दैे दुःखेसो पोखेका छन् । बजारमा एक दशकभन्दा बढी समयदेखी व्यवसाय गर्दै आउनुभएका विनोद कुमार श्रेष्ठले केही वर्षअघिसम्म चल्ने पसलहरु आजभोलि सुनसान बनेको बताउनुभयो ।“बजारमा मान्छेको चहलपहल नै छैन,भद्रगोल सडक र धुलोले बजार नै कुरुप देखिएको छ । हामी पसल खोलेर ग्राहक पर्खेर बसिरहेका हुन्छौँ । तर ग्राहक नै आउँदैन्न ।”–उहाँले गुनासो पोख्नुभयो ।

रामेछाप बजारकै अर्का व्यवसायी ईन्द्र श्रेष्ठका अनुसार आजभोली पसलमा ग्राहक एक दुई जना फाट्टफुट्ट रुपमा आउने गरेका छन । समाजका प्रतिष्ठित ब्यक्तिहरु गाउँ छोडेर सहर उन्मुख हुनु, अधिकांश ज्यालामजदुरी गर्ने ब्यक्तिहरु मात्रै गाउँमा बस्नु र आर्थिक संकट लाग्नु जस्ता कारणले पनि ब्यापार घटेको हुनसक्ने उहाँको बुझाई छ । नगरपालिकाले बजार विकास र विस्तारको काम गर्न नसक्दा यस्तो समस्या आएको उहाँँले बताउनुभयो ।

बजारसँगै पसलमा ग्राहकको उपस्थिति न्यून देखिँदा पसल सुनसान भएका हुन् । बढी बिक्री हुने आशामा पसलमा राखिएका सामान कतिपय अवस्थामा मुसाले खाइदिएर नष्ट गरेको व्यवसायी नविन मगरले बताउनुभयो । “बजारमा व्यापार छैन । घरभाडा तिर्नै मुस्किल छ । धेरै पसलहरु बन्द नै भैसके । हामी पनि के गर्ने सोच्दै छौँ ।” उहाँले भन्नुभयो ।

चाडबाड नआउँदा पनि भिडभाडका साथ चलिरहेका पसलहरु केहि समय यता चार्डपर्वमा पनि सुनसान बन्ने गरेको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं व्यवसायी शम्भु कुमार श्रेष्ठले बताउनुभयो । बजारका किराना पसल मात्र नभएर कपडा, फेन्सि, हार्डवेयर लगायतका पसल पनि सुनसान जस्तै भएका छन् । व्यवसाय नचल्दा ब्यापारबाट पलायन हुने अवस्था आएको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन ।

यता रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रामेछाप साँघुटार सडक आयोजनाले सडक कालोपत्रेको काम नसकेसम्म बजारको अवस्था सुधार हुन नसक्ने बताउनुभयो । बजार क्षेत्रमा सडक कालोपत्रे भैसकेपछि नगरपालिकाले बजार विस्तार र विकासको काम गर्ने भन्दै उहाँले त्यसपछि बजारमा चहलपहल बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार