सिँचाइको व्यवस्था गरिदिन रामेछापका माझी समुदायको माग

सिँचाइको व्यवस्था गरिदिन रामेछापका माझी समुदायको माग

तामाकोशी नदी बस्ती नजिकैबाट बग्ने भए पनि खेतिपातिका लागि सिँचाइ गर्न नपाएको किसानहरूले गुनासो गरेका छन् । नदी आसपास बसोबास रहेको माझी समूदायले माछा मारेर जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्लो समय नदीमा माछा पाइन छाडेपछि ६ सय घरधुरी माझी बस्तीलाई जीवन धान्नै मुस्किल परेको छ । नदीमा माछा पाइन छाडेपछि नै माझी समुदायले जमिनदारको जग्गा कमाएका छन् ।

तर तामाकोशी छेउको फाँटमा खेतीपातीका लागी उनीहरूलाई सिँचाइको समस्या भएको स्थानीयवासी कर्णबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार लिफ्टको माध्यमबाट सिँचाई गर्दा १ घण्टा पानी ताने वापत ७ सय रुपैयाँसम्म तिर्नुपर्छ । निर्वाचनमा माझी समूदायको बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले लिफ्ट सिँचाइको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका भए पनि त्यो आश्वासन कहिले पूरा हुन्छ भन्ने टुङ्गो छैन ।

रामेछापबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कान्छाराम तामाङले भने आफ्नो प्रतिबद्धता अनुसार काम गर्न केहि समय पखर्नुपर्ने बताउनुभयो । महङ्गो मूल्य तिरेर लिफ्ट सिँचाइ उपयोग गरे पनि वर्षायाममा तामाकोशीमा आउने बाढीले बाली नै बगाउँदा यहाँका माझी समुदाय थप समस्यामा पर्छन् । उनीहरूले आफ्नो बसोबास र खेतीपातीको सुरक्षाका लागी तटबन्धसहित लिफ्ट सिँचाइको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार