विद्यालयमा पानी नहुँदा विद्यार्थी संख्या घट्यो, विद्यार्थीहरु घरबाटै पानी लैजान बाध्य

विद्यालयमा पानी नहुँदा विद्यार्थी संख्या घट्यो, विद्यार्थीहरु घरबाटै पानी लैजान बाध्य

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको श्री महाकाली आधारभूत विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घर आउने गरेको अभिभावक गोविन्द राउतले बताउनुभयो ।

विद्यालय आसपासमा खानेपानीको कुनै मुहान नहुनु र नगरपालिका तथा वडाले ध्यान नदिँदा खानेपानीको चरम अभाव देखिएको विद्यालयले जनाएको छ । विद्यालयमा खानेपानी नभएकै कारण विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेको प्रधानाध्यापक राम बहादुर घिसिङले बताउनुभयो ।

तिर्खा लागेको बेला घरबाट ल्याइएको पानी सकिएमा विद्यालय नजीकैको घर जाने गरेको विद्यार्थी बताउँछन् । विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रयास गरे पनि अहिलेसम्म व्यवस्था गर्न नसकिएको प्रधानाध्यापक घिसिङले बताउनुभयो । पानी अभावले गर्दा विद्यालयमा भएका शौचालय पनि प्रयोगविहीन भएका छन् ।

पानी अभावका कारण रजश्वलाको समयमा छात्राहरू विद्यालय नआउने,विद्यालयका महिला शिक्षिकाहरुलाई रजश्वला भएको बेला विद्यालयले २ दिन बिदा दिने गरेको प्रधानाध्यापक घिसिङले बताउनुभयो । खानेपानीको चरम समस्या भएपछि विद्यालयमा विद्यार्थी संख्या पनि कम हुँदै गएको छ । विद्यालयलाई पायक पर्ने स्थानमा खानेपानीको मुहान समेत छैन । रामेछाप नगरपालिका वडा नं ७ ले विद्यालयमा पानीको व्यवस्थापनको लागी काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार