रामेछाप नगरपालिकामा लोकप्रिय बन्दै ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’

रामेछाप नगरपालिकामा लोकप्रिय बन्दै ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’

रामेछापको रामेछाप नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको उपप्रमुख बाल कुमारी थापा कार्कीले बताउनुभयो ।

यहि साउन महिनादेखी नगरपालिकाले सुरु गरेको यस कार्यक्रममा एक सय भन्दा बढी सुत्केरी महिलाहरुलाई भेटेर पौष्टिक खानकुरा सहितको कोशेली प्रदान गरिएको उपप्रमुख थापा कार्कीले बताउनुभयो । अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको संख्या बढाउन र पौष्टिक खानकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम निकै प्रभावकारी भएको उहाँले बताउनुभयो ।

उपप्रमुख थापा कार्कीका अनुसार नगरपालिकाले उपलब्ध गराउने कोशेलीमा घ्यू, तेल, आमा र बच्चाका लागि नुहाउने साबुन, लुगा धुने पाउडर,डिटोल साबुन लगायतका सामाग्रीहरुको रहेका छन । आफ्ना नागरिकहरुको समुन्नत स्वास्थ्यको लागि नगरपालिकाले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको र उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रममार्फत नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने सुत्केरी आमाहरुलाई कोशेलीसहित उनिहरु रहेकै ठाउँमा पुग्ने गरिएको उपप्रमुख बाल कुमारी थापा कार्कीले बताउनुभयो ।

साथै उपप्रमुखको नेतृत्वमा सुत्केरी आमा तथा बच्चाको अवस्था बुझ्न भिडियो एक्सरे सहित स्वास्थ्यकर्मीको टिम वडा वडामा पुगिरहेका छन । नगरको ९ वटै वडामा पुगेर गर्भवती तथा सुत्केरी आमा र बच्चाको अवस्था चेक जाँच गरिने उपप्रमुख थापा कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार