चिसो बढेसँगै जिल्ला अस्पताल रामेछापमा दमको बिरामी बढे

चिसो बढेसँगै जिल्ला अस्पताल रामेछापमा दमको बिरामी बढे

पुस महिना लागेसँगै देशभरि नै चिसो बढेको छ । चिसोकै कारण देखिएको समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू पनि बढिरहेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेण्ट डा. गगन अधिकारीले बताउनुभयो ।

अस्पतालमा दम रोगका बरामी धेरै आउने गरेको अस्पताल भर्ना हुनेमा पनि दम रोगकै बिरामी धेरै रहेको डा. अधिकारीले बताउनुभयो । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोग भएकालाइै चिसोले थप जोखिममा पार्ने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्न डाक्टर अधिकारीको सुझाव छ । न्यानो कपडा लाउन, घाममा बस्न, तातो र झोलिलो खानेकुरा खान उहाँको आग्रह छ ।

तराइमा बिहान शितलहर र हुस्सु लाग्ने अनि हिमाली जिल्लामा हिउँ पर्न सुरु भएको छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएका छन् । पुस लागे यता नै देशभर चिसो बढेको भए पनि केही दिन यता परिवर्तन भएको मौसमका कारण थप चिसो बढेको हो ।

चिसोले गर्दा बिहान घरबाहिर निस्कन र घर तथा बारीको काम गर्न मुस्किल परिरहेको स्थानीयवासी बताउँछन् । बिहानै खुल्ने पसल र बजार ढिलो गरी खुल्न थालेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार क्षेत्र सम्साझैँ सुनसान हुन थालेका छन । यद्यपि, न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार