शान्ति प्रसाद एक्लै, तारानारायणलाई गठबन्धनको भर

सत्ता गठबन्धनमा असन्तुष्टि समाजवादीको छुट्टै उम्मेदवारी

शान्ति प्रसाद एक्लै, तारानारायणलाई गठबन्धनको भर

सत्ता गठबन्धनमा असन्तुष्टि समाजवादीको छुट्टै उम्मेदवारी

४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– १ मा पूर्वसांसद शान्ति प्रसाद पौडेल र पूव संविधान सभा सदस्य तारानारायण श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । पौडेल २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ २०६४ को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण शान्ति प्रसादले सहज ढंगले चुनाव जितेका थिए । तर, यसपटक माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

श्रेष्ठ र पौडल दुबै जना दोस्रो पटक प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । प्रदेश सभा १ मा रामेछाप नगरपालिका, लिखतामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका पर्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिका मात्रै जित्दा एमालेले उमाकुण्ड गाउँपालिका,गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा जित हासिल गरेको थियो । प्रदेश सभा १ मा माओवादीले केही वडा बाहेक प्रमुख पद जितेको थिएन ।

तर २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम भने अघिल्लोभन्दा धेरै नै फरक छ । रामेछाप नगरपालिका,गोकुलगंगा गाउँपालिका,लिखु तामाकोशी गाउँपालिका अहिले नेपाली कांग्रेसले जितेको छ । एमालेले उमाकुण्ड गाउँपालिकामा मात्रै जित्दा माओवादीले भने केही वडा बाहेक प्रमुख पद जितेको छैन ।

२०७४ सालमा पौडेलले कांग्रेसका रत्न कार्कीलाई ६ हजार ३ सय २१ मतान्तरले पराजित गरेका थिए । पौडेलले २२ हजार ३ सय ७९ मत ल्याएर विजयी बन्दा कार्कीले १६ हजार ५८ मत ल्याएका थिए ।

सत्ता गठबन्धनमा असन्तुष्टि समाजवादीको छुट्टै उम्मेदवारी

यो क्षेत्रमा सरकारमा रहेको एकीकृत समाजवादी भने सत्ता गठबन्धनमा छैन । कांग्रेस र माओवादीले आफूहरुलाई अवमूल्यन गरेको भन्दै एकीकृत समाजवादीले प्रदेश सभा १ मा मन्थली नगरपालिकाका पूर्व मेयर समेत रहेका रमेशकुमार बस्ने उम्मेदवार छन् । गठबन्धनभित्र असन्तुष्टि भएकाले आफूहरुले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दिएको एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष समेत रहेका रमेश बस्नेत बताए । ‘हामीले मागेको प्रदेश सभा १ हामीलाई दिएनन्,’ उनले भने, ‘एक्लै लडे पनि प्रदेश सभा १ मा हाम्रो जित पक्का छ ।’

एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले यस अघि पनि सांसद हुँदा धेरै काम गरेको भन्दै अब बाँकी रहेको कामहरु गर्न पनि नागरीकले आफुलाई भोट हाल्ने उनले बताए । उनले भने,“मैले विवाद रहित तरिकाले कसैको मन नदुखाइ काम गरेको छु । मलाई अबश्य पनि नागरीकले भोट हाल्छन भन्नेमा म विश्वस्त छु ।”

सत्ता गठबन्धनका उम्मेदवार तारा नारायण श्रेष्ठले २०६४ को संविधान सभा सदस्यमा आफु निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यो पटकको निर्वाचनमा नेपाली कांग्रेसको पनि साथ रहेका कारण आफ्नो जित पक्का रहेको बताए । उनले भने,“मैले गरेको काम नागरीकले महसुस गरेका छन । नेपाली कांग्रेसको साथ पनि हामीलाई छ । हामीले जित्नेमा दुईमत छैन ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार