रामेछाप स्थित सुनकोसी नदीमा डुंगा दौड प्रतियोगिता सुरु, देशभरका २० टिम सहभागी

रामेछाप स्थित सुनकोसी नदीमा डुंगा दौड प्रतियोगिता सुरु, देशभरका २० टिम सहभागी

अन्तर जिल्ला प्रथम खुला डुंगा दौड प्रतियोगिता आज रामेछाप स्थित सुनकोसी नदीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा देशभरका २० टिमको सहभागिता रहेको छ । माझीको परम्परागत पेशाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

सुनकोसीमा परम्परागत सिमलको डुंगा चलाएर वारिपारि गर्ने उक्त प्रतिस्पर्धामा माझी समुदायले मात्र सहभागिता गर्न पाउनेछन् । एकल प्रतिस्पर्धातर्फ २ जना र डबलतर्फ ४ जना बसेर प्रतिस्पर्धा गर्नुपर्ने उक्त प्रतियोगिताको नियम छ । जसअन्तर्गत अधिकतम ५० मिटरको दूरीमा सुनकोसी वारिपारि गर्नुपर्ने हुन्छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई डबलतर्फ ३० हजार, २० हजार र १० हजार रुपैयाँ तथा एकलतर्फका विजेतामध्ये पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार राखिएको छ । मन्थली नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाका माझीहरूले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समितिले स्थानीय व्यवस्थापनको जिम्मा लिएको प्रतियोगितामा माझी संस्कृति र परिकारको समेत व्यवस्था गरिएको माझी उत्थान संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार