सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको बताउनुभएको हो । योसँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तीमा ३५ सय २० रुपैयाँदेखि १० हजार दुई सय ६० रुपैयाँसम्म बढेको छ । बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरूका लागि पनि लागू हुनेछ ।

६८ वर्ष माथिकालाई वृद्धभत्ता दिइने, भत्तामा मात्र १ अर्ब ३४ करोड छुट्याइयो

सरकारले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुुरक्षा भत्ता दिने भएको छ । संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि रहेको ७० वर्षको दायरालाई बढाएर ६८ वर्षमा ल्याइएको बताउनुभयो ।सामाजिक सुरक्षा भत्ता नलिने नागरिकहरुलाई सरकारले सम्मान गर्ने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।सरकारले विभिन्न शीर्षकका समाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब करोड रुपैयाँ विनियोजन गरेको छ ।

युवालाई धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९÷८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो ।

त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरु सँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गर्नुभयो ।अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने पनि बताउनुभयो । मन्त्री शर्माले खेल पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार