गंगालाल एकेडेमी रामेछापका तत्कालीन प्रिन्सिपल छात्रा बलात्कार आरोपमा पक्राउ

गंगालाल एकेडेमी रामेछापका तत्कालीन प्रिन्सिपल छात्रा बलात्कार आरोपमा पक्राउ

रामेछापको गंगालाल एकेडेमीमा केहि वर्ष अघि काम गरेका प्रिन्सिपल आफुलाई राज खड्का भनेर चिनाउने राजकुमार खड्का पक्राउ परेका छन । इटहरीस्थित ब्लुमिङ लोटस् ईङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सोही स्कुलका तत्कालीन प्रिन्सिपल ४ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का १५ वर्षीय छात्रालाई २०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसुरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि फरार थिए । सिन्धुली कमलामाई स्थायी घर भएका खड्कालाई जाहेरीको करिब ४ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

आफूले भनेको नमाने स्कुलबाट निकालिदिने धम्की दिँदै खड्काले छात्रामाथि बलात्कार गरेका थिए । त्यसपछि घटना सार्वजनिक नगर्न उनले छात्रालाई पटक–पटक धम्की दिएको र उनको मानसिक यातना खेप्न नसकेर छात्राले अध्ययन गरिरहेको स्कुल छाडेर अन्यत्रै भर्ना भएकी थिइन् ।

त्यसपछि पनि खड्काले छात्रालाई विवाह गर्ने भन्दै घटना गोप्य राख्न प्रलोभन दिएका थिए । तर, घटनाको करिब १ वर्षपछि २०७५ भदौ २ मा छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि आरोपित खड्का फरार भएका थिए भने उनी विरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीमा मुल्तवीमा राखिएको थियो । सीआइवीका एसपी कमल थापाका अनुसार पक्राउ परेका खड्कालाई जिल्ला अदालत सुनसरी पठाइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार