रामेछापको ५ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कसले जिते ?

रामेछापको ५ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कसले जिते ?

वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको छ । रामेछाप जिल्लाको ८ वटा स्थानिय तहमध्ये यो समाचार तयार पार्दासम्म ५ वटा स्थानिय तहको मत परिणाम सार्वजनिक भैसकेको छ । रामेछाप, ,लिखुतामाकोशी,गोकुलगंगा,उमाकुण्ड र सुनापती गाउँपालिकाको मतपरिणाम आइसकेको छ ।

खाँडादेवी,दोरम्बा शैलुङ र मन्थली नगरपालिकामा मत गणना भैरहेको छ । लगभग यि तिन पालिकामा पनि मत गणनाको काम अन्तिम चरणमा पुगेको छ ।

खाँडादेवी गाउँपालिकामा मतगणना भैरहेको छ । अहिलेसम्मको अवस्थामा त्यहाँ एमाले अध्यक्षमा र उपाध्यक्षमा अघि देखिएको छ । दोरम्बा शैलुङ गाउँपालिकामा पनि मतगणना भैरहेको छ त्यहाँ माओवादी केन्द्र जित नजिक रहेको छ भने उपाध्यक्षमा नेपाली कांग्रेस जित नजिक रहेको छ । मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा एमाले अघि रहेको छ ।

कुन पालिकामा कसले जिते ?

रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा एमालेको जित

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महत विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडेरियालाई पराजित गर्नुभएको छ । महतले ५ हजार १ सय १२ मत प्राप्त गर्नुभएको छ भने कडेरियाले ४ हजार ८ मत प्राप्त गर्नुभयो ।

महतले एक हजार १ सय ४ मतले चुनाव जित्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिन विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनसँग पराजित हुनुभएको हो । दिपा पाख्रिनले ४ हजार १ सय २६ मत प्राप्त गर्दा सरस्वती गुरुङ खड्काले ३ हजार ९ सय ३३ मत पाउनुभएको छ । यस अघि लिखुतामाकोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्ष सहित नेपाली काग्रेसले विजय हासिल गरेको छ । काग्रेसका उम्मेदवार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिनलाई फराकिलो अन्तरले पराजित गरी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गर्दा पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा काँग्रेसकै बालकुमारी कार्की थापा निर्वाचित हुनुभएको छ । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गर्दा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसले नगरको ९ मध्ये ७ वटा वडा जितेको छ ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याउनु भएको छ । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवारले २ हजार ९ सय २२ मत पाउनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले शान्दार जित हात पारेको छ । गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याउनुभएको छ । पालिका उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गर्नुभयो । पराजित श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवा र राधिका श्रेष्ठ विजयी हुनुभएको थियो ।

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा गिता विष्ट विजयी विजयी हुनुभएको छ । अध्यक्ष तामाङले ५३९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गर्नुभयो ।

तामाङले ५४७ मत बढी ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा गिता विष्ट ५३६० मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पधी कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत प्राप्त गर्नुभयो । यसअघि पनि सुनापतिमा माओवादी केन्दले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार