रामेछापका सबै मतगणना स्थलमा सीसीटिभी जडान

रामेछापका सबै मतगणना स्थलमा सीसीटिभी जडान

रामेछापका सबै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ । निर्वाचन आयोगले मतगणना स्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको ८ वटै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको हो । हिजै सबै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली रामेछापले जानकारी दिएको छ ।

२ नगरपालिका ६ गाउँपालिका र ६४ वडा रहेको जिल्लामा ३ सय ३६ जनप्रतिनिधि चुनिँदै छन् । यसको लागि १ हजार १ सय ५९ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा स्थानीय तह निर्वाचनको लागि ९१ हजार १ सय ३१ जना पुरुष र ८७ हजार ७ सय ३६ जना महिला गरी १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका छन् । जिल्लामा ९२ वटा मतदान स्थलमा २ सय २३ मतदान केन्द्र छन् ।

ती मध्ये २५ मतदान स्थल अति संवेदनशील र २६ वटा मतदान स्थल संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ । जिल्लामा निर्वाचनका लागि १ हजार १ सय १२ कर्मचारी परिचालित छन् । निर्वाचन सुरक्षाको लागि १ हजार ७ सय प्रहरी र म्यादी प्रहरी, ७ सय नेपाली सेना र २ सय ५६ सशस्त्र प्रहरी खटिएको रामेछाप प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार