मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

मौन अवधिमा मतदाता प्रभावित पार्न हुनसक्ने सबै प्रकारका चलखेल रोक्न सबै संयन्त्र सक्रिय रहेको निर्वाचन आयोगले जनाएको छ । दलका उम्मेदवारहरू मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । मौन अवधिमा उम्मेदवारले भोट माग्न, घरदैलो कार्यक्रम गर्न, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मौन अवधि उम्मेदवार तथा दलहरूलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ ।

यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ । यस्ता गतिविधि हुन नदिन आयोगले यस पटक विषेश सर्तकता अपनाएको बताएको छ । जसका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्लामा अनुगमन संयन्त्र गठन गरिएको आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले बताउनुभयो ।

मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दबाब वा प्रभावमा पारी मतदातालाई आतङ्कित पार्ने, जस्ता कार्य नगर्न नगराउन गृह मन्त्रालयले समेत आग्रह गरेको छ । मौन अवधिमा हुने गतिविधिलाई गृहले निरिक्षण गरिरहने र कहिँ कतै निर्वाचन आचारसंहिता विपरित गतिविधि भए तुरुन्तै कारवाही गरिने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।

पछिल्लो समय प्रचार प्रसारको माध्यमसमेत बन्दै आएको सामाजिक सञ्जाललाई पनि आयोगले यसपटक निगरानीमा राखेको छ । आयोग अन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए–नभएको अनुगमन गर्नेछ र उल्लङ्घन भएको पाईए कारवाही पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार