२२० केभी नयाँ खिम्ती सब-स्टेशनको प्रधानमन्त्री देउवाद्धारा उद्धघाटन

२२० केभी नयाँ खिम्ती सब-स्टेशनको प्रधानमन्त्री देउवाद्धारा उद्धघाटन

तामाकाेशी जलविद्युत आयाेजनाकाे मुख्य सब-स्टेशनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सब-स्टेशन शनिबार उद्घाटन गर्नुभएको हाे ।

सब-स्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको याे सब-स्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सब-स्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सब-स्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के. भी.  डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब-स्टेशन जोडिएको छ । माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत् यही सब-स्टेशनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सब-स्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सब-स्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सब-स्टेशनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ के.भी. सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहितनेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सब-स्टेशनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर वे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर वे रहेका छन् । साथै, सब-स्टेशनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सब-स्टेशनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सब-स्टेशन  निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार