अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछाप नगरपालिकामा अन्तरकृया

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछाप नगरपालिकामा अन्तरकृया

आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रामेछाप नगरपालिकाले अन्तरकृया कार्यक्रम गरेर मनाएको छ । वातावरण संरक्षण परियोजनासँगको सहकार्यमा नगरपालिकाले अन्तरकृया कार्यक्रम गरेको हो । ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरकृया कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका महिलाहरु सहभागी थिए ।

उक्त अन्तरकृया कार्यक्रममा नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले महिलाको पक्षमा भएका कानुनहरुको बारेमा जानकारी गराउनुभयो । महिलाको सवालमा बनेका कानुनहरु,अन्तराष्टिय सन्धि सम्झौता,संवैधानिक इतिहास,संवैधानिक व्यवस्था लगायतको बारेमा कानुनी सल्लाहकार दाहालले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबैले प्रण गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो । परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार