फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समाधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की, वडा नं ८ का वडाध्यक्ष केदार कार्की उद्योग वाणिज्य संघका अध्यक्ष सम्भु कुमार श्रेष्ठ, स्थानीय लगायतको संयुक्त टोलीले टेलिकमका ग्राहकले भोग्दै आएका समस्या तत्काल समधान गर्न कार्यालय प्रमुख विष्णु बहादुर भण्डारीलाई बुधबार ध्यानकार्षण पत्र बुझाएका हुन् ।

विगत लामो समय देखि ल्याण्डलाइन फोन र मोबाइल फोनमा समस्या आउँदा एक अर्काबीच कुरा हुँदा प्रष्ट आवाज नसुनिने, इन्टरनेट सेवा अवरुद्ध हुँदा वडा कार्यालयबाट प्रवाह हुने अनलाइन सेवा बन्द हुने भएकाले तत्काल सेवा सुधार गर्न ध्यानकार्षण पत्रमा उल्लेख छ । त्यस्तै यसअघि नै रामेछाप नगरपालिका भित्रका विभिन्न वडा र बजार क्षेत्रहरुमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारको लागि सर्भे–नक्सांकन समेत भइसकेको भएपनि हाल कुनै काम सुरु नभएको हुँदा टेलिफोन सेवा र इन्टरनेट सेवालाई चाँडो बिस्तार गर्न समेत ध्यानकार्षण पत्रमा माग गरिएको छ ।

वडा नं ८ का वडाध्यक्ष केदार कार्कीले नेपाल टेलिकमले रामेछाप बजार क्षेत्र हेर्ने गरी रामेछाप डाँडामा स्थापना गरेको कार्यालयले जिम्मेवार भएर काम नगर्दा सेवाग्राहीले समस्या भोग्नु परेकाले त्यहाँ रहेको कार्यालयमा प्राविधिक कर्मचारी राखेर सेवा सुधार गर्न आग्रह गर्नुभयो ।त्यस्तै वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले आफ्नो कार्यालयमा आउने सेवाग्राहीले इन्टरनेटकै कारण घण्टौ कुर्नु पर्ने बाध्यता रहेकाले त्यसलाई तत्काल समधान हुने गरी सेवा सुधार गर्न आग्रह गर्नुभयो ।

ध्यानकार्षण पत्र बुझाउन पुगेका रामेछाप बजारबासीले नेपाल टेलिकमले सेवाग्राहीसँग पैसा मात्रै लिएको तर सेवा भने गुणस्तरहिन दिएर सेवाग्राहीसँग पैसा लिएर ठग्ने काम मात्रै गरेको आरोप लगाएका छन् । उनिहरुले यसअघि लामो समय सम्म इन्टरनेट (एडिएसएल) सेवा अवरुद्ध हुँदा तिरेको पैसा कार्यालयले फिर्ता गर्छु भनेको भएपनि अहिले सम्म त्यो बचन पुरा नगरेको आरोप लगाएका छन ।

यता नेपाल टेलिकम रामेछाप शाखाका प्रमुख विष्णु बहादुर भण्डारीले ध्यानकार्षण पत्रमा लेखिए जस्तो सबै समस्या नभएको बताउँदै केही समस्यालाई चाँडै समधान गर्ने तर्फ कार्यालय लाग्ने बताउनुभयो ।

नेपाल टेलिकम रामेछापले बर्दिबास र दोलालघाट–लामोसाँघु हुँदै दुई ठाउँबाट आएको अप्टिकल फाइबर सहितको इन्टरनेट ग्राहकलाई वितरण गरिएको छ भने भालुखोप डाँडामा रहेको रिपिटर टावर मार्फत पनि इन्टरनेट सेवा दिइरहेको छ । तर, यसरी तीन विकल्प हुँदा–हुँदै पनि ग्राहकले इन्टरनेटको विभिन्न समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार