चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्ने भएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । आज बिहानसम्म अवस्थाउस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । पहिरोका कारण थुनिएको नदीको बहाव अहिलेसम्म नखुलेको जानकारी आएकाले तामाकोशीमा पनि पानीको बहाव स्थिर रहेको उहाँको भनाइ छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यसआसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदी थोनिएको बताइएको छ । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम छ ।