कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि सुरु गरिँदै

कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि सुरु गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमादेखि सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि सुरु गरिँदैछ ।आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पिपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । कात्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने गएराति नै मनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार