विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको छ । रामेछाप बजारका केहि स्थानिय सहित जिल्ला अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकमी र रामेछाप नगरपालिका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण फैलन नदिन रामेछाप नगरपालिकाले बजार क्षेत्रमा कडाई गरेको छ ।
नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णयले पनि बजार सुनसान बनेको हो । चाडपर्व नजिकिँदै गर्दा बजार सुनसान देखिएको छ । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि आज बजारमा चहलपहल देखिएको छैन । बजारका अधिकांश पसल बन्द छन । विगतमा चाडपर्वको समयमा भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरू पनि निराश बनेका छन् । कोभिड– १९ को संक्रमणको जोखिमका कारण मानिस सामान खरिद गर्न बजार निस्किएका छैनन् ।