कोरोना रोकथामका लागि खाँडादेवी गाउँपालिकाको खर्च ७५ लाख

कोरोना रोकथामका लागि खाँडादेवी गाउँपालिकाको खर्च ७५ लाख

रामेछापको खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ७५ लाखभन्दा बढी रकम खर्च गरेको छ । खाँडादेवी गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा ७५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । सबैभन्दा बढी कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पीपीइ सेट, औषधीखरिद लगायतका शीर्षकमा ५३ लाख ३९ हजार ९ सय ४६ रुपैयाँ बराबरको रकम खर्च भएको खाँडादेवी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

जसमध्ये निःशुल्क औषधी वितरणका लागि गरिएको औषधी खरिदमा ३० लाख रुपैयाँखर्च भएको उहाँले बताउनु भएको छ । हेल्थ डेस्क, स्वयमसेवक टोली वा जनशक्ति परिचालनमा १० लाख १५ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी क्वारेन्टाइन तथा आइसोलेसन बेड निर्माण तथा व्यवस्थापन र क्वारेन्टाइनमा बसेकाहरुको खाजा, खाना खर्चमा २ लाख ६ हजार ८ सय ८५ रुपैयाँ खर्च भएको छ ।

यातायात शीर्षकमा १ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । भिटिएम तथा आरडिटी किट खरिदमा ८५ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा कम राहत वितरणमा ६ हजार ४५ रुपैयाँ खर्च भएको छ । यसैबीच, संघ संस्था तथा व्यक्तिगत रुपमा प्राप्त भएका ६ लाख ९५ हजाार ५ सय ६८ रुपैयाँ बराबरको आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेशबाट आएको १० लाख र अन्य रकम पालिकाकै बजेटबाट खर्च गरिएको स्वास्थ्य शाखाका संयोजक श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार