१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा देखिएको अनियमितताबारे छानबिन गर्न गठित उप समितिले काम सुरु गरेको छ । सागको सामान खरिद तथा राष्ट्रिय खेलकुद परिषद परिसरको रुख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको ५ सदस्यीय उपसमितिले काम सुरु गरेको हो ।गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठित उपसमितिको शुक्रवार बसेको पहिलो बैठकले छानबिन कार्यलाई विभिन्न चरणमा बाँडेर अघि बढ्ने र सदस्यहरुको जिम्मेवारी बाँडफाट गर्ने निर्णय गरेको छ ।उपसमितिका सदस्यले सामान खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिल सम्बन्धि प्रक्रियाको अनुसन्धान गर्ने संयोजक भट्टराईले बताउनुभयो ।उपसमितिले सरोकारवालाले छानबिनका सम्बन्धमा कुनै गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात पेश गर्न चाहेमा ७ दिनको समय उपलब्ध गराउने निर्णय गरेको छ ।सरोकारवाला पक्षले भदौ १२ गतेभित्र आफ्नो गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात उपसमिति समक्ष पेश गर्न सक्नेछन् ।