रामेछापको लिखु खोलामा ३६ मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उज्यालो इनर्जी सोलुसन प्रा.लि.ले प्रस्ताव गरेको उक्त आयोजना रामेछाप नगरपालिका र ओखलढुंगाको लिखु गाउँपालिका क्षेत्रलाई समेत समेटेर निर्माण गरिने भएको हो।
प्रस्तावित आयोजना Peaking Run–of–River –ProR प्रकृतिको हुनेछ। आयोजनाले दैनिक करिब ३ घण्टा पिकिङ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको जडित क्षमता ३६ मेगावाट रहेको छ भने सुख्खा मौसमको पिक ऊर्जा १८.८७ गिगावाट आवर र वर्षायामको ऊर्जा १५१.६३ गिगावाट आवर रहने
छ । कुल वार्षिक ऊर्जा उत्पादन क्षमता भने २१८.०९ गिगावाट आवर रहेको छ।
आयोजनाको इन्टेक क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिका–२ घिर्लिङ तथा रामेछाप नगरपालिका–३ क्षेत्रमा रहने प्रस्ताव गरिएको छ। विद्युतगृह भने रामेछाप नगरपालिका–५ हाँडेटार क्षेत्रमा निर्माण गरिने जनाइएको छ।
आयोजना निर्माणका लागि करिब ७ अर्ब ४३ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजना निर्माण सम्पन्न गर्न चार वर्ष लाग्ने प्रस्तावित विवरणमा उल्लेख छ।
आयोजनाको हेडवक्र्स रामेछाप नगरपालिका–३ र ओखलढुंगाको लिखु गाउँपालिका–२ क्षेत्रमा तथा एप्रोच टनेल रामेछाप नगरपालिका–३ मा निर्माण गर्ने प्रस्ताव गरिएको छ।
उज्यालो इनर्जी सोलुसन प्रा.लि.ले प्रस्ताव गरेको यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइ बुधबार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि,राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
यस आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनुका साथै रामेछापको जलविद्युत् विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


