रामपुर स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

रामपुर स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

रामेछापको रामेछाप नगरपालिका–५, रामपुरस्थित रामपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य चौकीले किशोरकिशोरी लक्षित स्वास्थ्य सेवाको गुणस्तर सुधार, सहज पहुँच तथा मैत्रीपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक मापदण्ड पूरा गरेपछि किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

साँघुटार स्वास्थ्य चौकी नगरकै पहिलो र रामपुर स्वास्थ्य चौकी दोश्रो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमखु विष्णु बहादुर कार्कीले बताउनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले रामपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभयो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले किशोरकिशोरीको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता समिर कार्कीले किशोरकिशोरीमैत्री सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सके युवापुस्तामा स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण हुनुका साथै स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रमका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य चौकीले किशोरकिशोरीलाई लक्षित परामर्श सेवा, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी, मानसिक स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवा गोपनीय र सहज रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

स्वास्थ्य चौकीका प्रमुख कृष्ण बहादुर तामाङले किशोरकिशोरीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तथा उनीहरूको आवश्यकता अनुसारका सेवा अझ प्रभावकारी रूपमा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।

किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएसँगै रामपुर स्वास्थ्य चौकीबाट किशोरकिशोरीहरूले अझ गुणस्तरीय, सुरक्षित र गोपनीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार