रामेछाप अस्पतालमा एम्बुलेन्स चालक नहुँदा अस्पतालको एम्बुलेन्स सेवा प्रभावित बनेको छ। बिरामीलाई आकस्मिक अवस्थामा अस्पतालसम्म ल्याउन तथा अन्यत्र रेफर गर्न अत्यावश्यक मानिने एम्बुलेन्स सेवा चालक नहुँदा अवरुद्ध जस्तै बनेको हो।
अस्पतालको एम्बुलेन्स चालक उमेरहदका कारण सेवा निवृत्त भएपछि अहिले एम्बुलेन्स थन्किएर बसेको हो। अस्पतालको एम्बुलेन्स नचलेपनि सुकाजोर स्वास्थ्य चौकी र मालागिरी विकास केन्द्रद्धारा संचालित एम्बुलेन्सले सेवा दिईरहेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनका अनुसार सोमबार एम्बुलेन्स चालकको लागि वि ज्ञापन खुलाउने तयारी भैरहेको छ। स्थानीय नागरिकहरूले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एम्बुलेन्स सेवा अवरुद्ध हुनु गम्भीर विषय भएको भन्दै तत्काल चालकको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार अस्पतालमा एम्बुलेन्स भएर पनि चालक नहुँदा सेवा नपाउनु विडम्बनापूर्ण अवस्था हो।
स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन अनिवार्य रहेको सरोकारवालाहरूले बताएका छन्। एम्बुलेन्स सेवा नियमित नहुँदा आकस्मिक स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको भन्दै समस्या समाधानमा सम्बन्धित निकायले चासो दिनुपर्ने देखिएको छ।


